पक्राऊ परि डिपोर्ट हुनेको संख्या १०० नाघ्यो
सिओल -कोरिया सरकारले नक्कली परीक्षार्थी मार्फत ईपियस भाषा परीक्षा पास गरी कोरीया आएका नेपालीलाई पक्राऊ गरी नेपाल डिपोर्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । सरकारले त्यसरी कोरिया आएका नेपालीलाई पक्राउ गर्ने अभियान सुरु गरे यता सय भन्दा बढी नेपाली पक्राऊ परिसकेको कोरियाको अध्यागमन कार्यालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक संगठन(एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए । ।
सुरुमा अनुहार मिल्ने साथिलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एकजनालाई पक्राउ गरिएकोमा यसरी आउने नेपालीको संख्या ठुलो हुन सक्ने भन्दै सरकारले अध्ययन सुरु गरेको थियो ।
पक्राउ परी डिपोर्ट हुनेहरुमा कोरिया आएको तीन महिना भएदेखि साढे तीन वर्ष बसेका सम्म रहेको बताईएको छ ।
यसरी पक्राउ पर्नेहरुमा ताप्लेजुङ, पाँचथर, म्याग्दी लगायतका जिल्लाबाट आउने नेपालीहरुको संख्या ठुलो रहेको राईले बताए ।
अरुलाई परीक्षा लेखाई कोरिया आएका नेपालीलाई सोझै नेपाल डिपोर्ट गर्ने गरेको भएपनि अर्काको परीक्षा दिनेहरुलाई भने विभिन्न सुरक्षा सम्बन्धी मुद्धा चलाई अनुसन्धान अगाडि बढाईएको उनको भनाई छ ।
यसरी आउनेहरु कोरियाको आन्तरिक सुरक्षाको विषयमा पनि खतराका संकेत हुन सक्ने भन्दै उनीहरुलाई थप मुद्धा चलाउने गरेको राईको भनाई छ ।
राईले थपे, — ‘‘यसरी पक्राऊ पर्ने कतिपयलाई अदालती प्रक्रिया लम्ब्याएर ६ महिना सम्म पनि थुनेको छ । कतिपय नेपाली साथीहरुले गुनासो गर्दै फोन गर्नुहुन्छ, हामिले गर्न सकिने केहि छैन । ’’