स्करपियो दुर्घटनामा ७ जनाको मृत्यु [अपडेट]

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ७ थाक्लेमा भएको स्करपियो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।
सोलुखुम्बुको जुनबेँसीस्थित ठूलो गुम्बाबाट काठमाण्डौका लागि छुटेको बा१६च २२०७ नम्बरको स्करपियो आइतबार विहान ११ः४५ बजे सिद्धिचरण राजमार्गको ओखलढुंगा घुर्मी सडक खण्डको थाक्लेको भीरबाट २ सय मिटर तल खसेको थियो ।
स्करपियोमा सवार ९ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र उनकी ४५ वर्षीया श्रीमती डोमा शेर्पा, काठमाण्डौको बौद्धस्थित नयाँवस्तीका ३६ वर्षीया नोर्बू शेर्पा, ४० वर्षीया ङावाङ शेर्पा, ५० वर्षीया साङ्गेला शेर्पा, ३२ वर्षीया नुमा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । घाइतमध्ये काठमाण्डौ नयाँवस्तीका कुङ्सिङ्गे शेर्पाको उपचारका लागि काठमाण्डौ पुर्याएपछि मृत्यु भएको छ भने चालक काठमाण्डौ बौद्धका ३० वर्षीय कृष्ण श्रेष्ठ र ९ वर्षीय बालक मिङ्मा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नीहरुको अवस्था गम्भीर रहेकाले काठमाण्डौ पठाइएको श्रेष्ठले बताए । उदयपुरको घुर्मीस्थित आस्था अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *