-शिवप्रसाद ढुंगाना/ओखलढुंगा
श्रष्टा पार्कको पहिलो तहका खुड्किला पार गर्नै लाग्दा पाँच जना युवती खुड्किलाको अन्तिम विशौनिमा जोडिएका रेलिङमाथि मच्चिदै गफ चुट्दै थिए । उनीहरुको भार रेलिङले नधान्ने संकेत गर्दै थियो ।
मैले उनीहरुलाई त्यहाँ बस्न उपयुक्त होइन भन्ने बुझाउन कुटनीतिक भाषा प्रयोग गरेँ । ‘यति राम्रा र अनुशासित मान्छे यसरी बस्नु सभ्य देखिएन’ मेरो कुरा उनीहरुलाई विष झैं लागेछ । उनीहरु प्रतिवाद गर्न लागे । साथी लिला सुनुवारले उनीहरुको प्रतिवाद सुनेपछि अघि बढ्ने संकेत गरे । अर्का साथी पदम परियारसहित हामी तीन जना अझ अघि बढ्यौं ।
श्रष्टा पार्कको राष्ट्रपतिले भव्य उद्घाटन गर्ने चर्चा छ । धमाधम निर्माणका काम भइरहेकाले हाम्रो टिममा अवलोकनको हुटहुटी जागेको थियो । त्यस अघि अपराह्नको ४ बजे मित्र लिला सुनुवारले फोन गरे । शनिबार, सरसफाइ सकेर बसेको थिएँ । सिद्धिचरण नगरपालिका १२ गणेशचोकमा चिया पिएर तीन जना श्रष्टापार्कको खुड्किला चढ्न पुगेका थियौं । उमेरले १७÷१८ वर्षका जस्ता देखिने ती युवतीहरुको गतिविधी र चेतनास्तर देखेर दुःख लाग्यो । त्यहाँ ती युवतीहरु जस्ता अनेकौं पात्रहरुको हर्कत नथेगेर चार थान रेलिङ भाँचिएर पनि गायव भइसकेका थिए ।
हामी पार्कको अन्तिम स्टेशन पुगेको पाँच मिनेट नबित्दै अर्को हर्कतले झन् दुखित बनायो । हामी जस्तै घुम्न पुगेका केही साथीहरु फर्किनु भयो । हामी बेञ्चमा बसेर गफिदै थियौं । एकहुल ठिटा सेल्फी खिच्न पुगे । मेलवादेवी, सिद्धिचरण, पाण्डव सुनुवार र व्याकुल माइलाका अर्ध कदका स्मारकसँग सेल्फी खिचेर छेउका रेलिङमाथि चढीहाले । दुई जना बेञ्चमा बसे । दुई जना नाघेर जंगल पसे । फेरि फर्केर आएपछि रेलिङमाथि नै चढेर सेल्फी खिच्न थाले । उनीहरुलाई सम्झाउनु भनेको मुख दुखाउन जस्तै थियो ।
त्यसकारण उनीहरुको फोटो र भिडियो टाढैबाट लिएँ । उनीहरु दाँयाबाया गर्न लागे । हामीले यो दृष्य देखिसकेपछि गत बर्षबाट निर्माण थालिएको उक्त पार्क पुरा भइनसक्दै नौजवान जोसको बज्रपात सहदै गरेको टिप्पणी गर्दै विकास किन टिकाउ हुँदैन भन्ने चर्चा गर्यौ । त्यहाँ गाडीएका फलामका बेञ्च मध्ये एक थान उखेलिएको, वरिपरि लगाइएका रेलिङका ६ ठाउँमा भाँचेर फालिएको अवस्था देखियो । अर्कातिर धमाधम निर्माण पनि भइरहेको छ ।
यो पार्क ओखलढुंगाको एक महत्वपूर्ण पर्यटकीय स्थल हो । यहाँबाट विभिन्न ठाउँको दृश्याबलोकन र ओखलढुंगा बजारको भ्यू राम्रोसँग नियाल्न सकिन्छ । यहाँ स्थानीय, सरोकारवाला, राजनीतिक दल, नागरिक समाज सबै पक्षको पहलबाट व्यवस्थित पार्क बनाउने काम भइरहेको छ । विरेन्द्रपार्कको नामले चिनिने यसलाई श्रष्टा पार्क बनाउन र पूर्वाधार निर्माणका काममा सांसद यज्ञराज सुनुवारको महत्वपूर्ण देन छ । यो जिल्लाको एक नमुना स्थल हुनसक्छ ।
इकोन देखि कण्डमसम्म
तर, हाम्रो एक घण्टाको अवलोकनले युवाको शक्ति दुरुपयोगले विनाश पनि निम्त्याउँदैछ भन्ने तथ्य देख्न पाइयो । यो अत्यन्त दुःखद हो । सार्वजनिक सम्पति संरक्षण गर्नु पर्छ भन्ने चेतनास्तर नभएको युवा शक्ति विध्वंशको सारथी मात्रै बन्छ भन्ने १ घण्टे अध्ययनले पुष्टि गर्यो ।
हामी त्यसपछि फर्कियौं ।
शहिद स्मारक नजिकै नेपाल टेलिकमको टावर छ । टावरमा आश्यक विद्युतका लागि सोलार राखिएको छ । एक वर्षका बीचमा २० पाता सोलारमध्ये ९ पाताचाँहि आचारजस्तो हुने गरि ढुंगाले कुटिएको छ । उकरण राख्ने सानो घरको झ्यालमा राखिएको शिशा फुटाइएको छ । यस्तो अवस्था देखेपछि हामी एकछिन अलमल्ल पर्यौं । सोलार फुटाउने, रेलिङ भाँच्ने व्यक्ति को हुन् ? भन्ने विषयमा विमर्श भयो । यहाँ बालक र बुढाबुढी होइन, नौजवान युवा युवतीहरु जान्छन् । उनीहरुकै करामत र उपलब्धी हो, त्यो । युवा चेत विनाशमा खर्चिएको देशमा विकास किन भएन भनेर गरिने प्रश्नको गहकिलो उत्तर यी नै विध्वंशले दिइरहेका छन् ।
यो पार्कमा अश्लिल गतिविधी हुने निकै चर्चा चलिरहन्छ । प्रहरीले निगरानी पनि उत्तिकै गर्छ । सार्वजनिक स्थलमा यौनजन्य अश्लिल गतिविधी गर्न कानुनले पनि बन्देज लगाएको छ । तर, त्यहाँ त्यस्ता गतिविधी भएको वरिपरि छरिएका कण्डम र इकोनका बट्टाहरुले प्रमाणित गरिरहेका थिए । यहाँ सुन्दर श्रष्टापार्क निर्माण भइरहँदा पाश्र्वमा भेटिएका यस्ता अँध्यारा पाटालाई मेटाएर मनमोहक पार्क निर्माणमा सबैको विवेक प्रयोग गरे हामी साँच्चिकै सफलतामा पुग्छौं ।