- नवराज कार्की
ओखलढुंगा । निजी आवास पुनर्निर्माणमा खटिएका ओखलढुंगाका प्राविधिकहरु आन्दोलनमा उत्रिएका छन् । भौगोलिक र प्रोत्साहन भत्ता दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले काम समेत ठप्प पारेका छन् ।
प्राविधिकहरुले पाइरहेको भौगोलिक तथा प्रोत्साहनलगायतका भत्ता नदिइ पुनर्निर्माण प्राधिकरणले यही फागुनबाट अतिरिक्त अपुरो भत्ता दिने निर्णय गरेपछि आन्दोलनमा उत्रिनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण समिति ओखलढुंगाका अध्यक्ष राजेन्द्र धमलाले बताए । दुर्गममा खटिएका प्राविधिकहरुलाई प्राधिकरणले ललिपप देखाएर थुमथुमाउने कार्य गरेको धमलाको भनाई छ ।
आइतबार बसेको हकहित केन्द्रको बैठकपश्चात एक विज्ञप्ति जारी गर्दै अध्यक्ष धमलाले ७५ वटै वडाका प्राविधिकहरुले पेन डाउन गरेको जनाएका थिए । केन्द्रीय कार्यक्रम अन्तर्गत अन्दोलनमा उत्रिएका यहाँका प्राविधिहरुले भौगोलिक र प्रोत्साहन भत्ता व्यवस्था गरी मासिक रुपमा उपलब्ध गराउन माग राखेका छन् । यस्तै दुर्घटना र स्वास्थ्य विमा, गाँस, बास र कपास र सुरक्षाको प्रत्याभूति, प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन तत्कालन व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
हेर्नुहोस् विज्ञप्ति