एउटा विद्राेही कविता : रामेदाई

 

        आरनको छेउमा बसेर हेरीरहेछु रामे दाइको अनुहार
दुखको दलदलमा गडिरहेछन् उनका आँखाहरु
समस्याझैं बढिरहेछन् उनका गालाका हड्डी
अनी आशाझैं चाउरीरहेछ उनको अभागी निधार ।।

हथौडाले पिटीरहेछन् तातो फलामको टुकुरो
जसरी पिटीरहेछ गरिबीले उनको आत्मसम्मान
सकिनसकि घुमाईरहेछन् खँलातीको ह्यान्डिल
जसरी घुमाईरहेछ विवशताको भुमरीले उनको जिन्दगी ।।

रामे दाइ हँसिया र कोदालीको भारी बोक्छन्
बराजुको हेपाइ र गालीको भारी बोक्छन्
तर आफ्नो खुट्टाको भारी जुत्तालाई पर्छ भनेर
रामे दाइ कहिल्यै जुत्ता लगाउँदैनन् ।।

बाउले सिकाएको यत्ती हो उनलाई
काँचो फलाम पिटेर हँसिया बनाउन
कोदाली बनाउन,खुकुरी बनाउन र फाली बनाउन
पाको उमेर भैसक्दा पनी कसैले किन सिकाएन उनलाई
आफ्नो जिन्दगी बनाउन ?

बाउले बालीघरे भनेर चिनाएका घरहरु
गालीघरे बनेर चिनिए
बाउले बिष्ट भनेर चिनाएका मान्छेहरु
दुष्ट बनेर चिनिए
त्यसैले होला रामे दाइलाई
आफ्नो छोरालाई ‘आर्ने’ बनाएर चिनाउन मन छैन ।।

( नोट : फोटो गुगलबाट साभार गरीएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *